I, a different person to every other eye.
हरेक आँखा पिछे
फरक म
भिन्न! भिन्न! भिन्न!
कसैको आँखामा
म उज्यालोको एउटा किरण,
कसैको आँखामा
नबुझिएको अँध्यारो।
कसैको नजरमा
म अधुरो कथा,
कसैको नजरमा
पूरै कविता।
कसैले मेरो मौनतामा
घमण्ड पढ्छ,
कसैले त्यही मौनताभित्र
थाकेको मन सुन्छ।
कसैले मेरा कमजोरी गन्छ,
कसैले तिनै कमजोरीभित्र
लुकेको संघर्ष देख्छ।
हरेक आँखाले
आफ्नै अर्थमा मलाई कोरिरह्यो,
आफ्नै अनुभवले
मेरो परिचय लेखिरह्यो।
म भने
अरूका नजरमा बनेका
ती असंख्य महरू
बोकेर हिँडिरहेँ।
यति धेरै रूप पाएँ
अरूका आँखामा,
कि एक दिन
आफ्नै आँखाभित्र हेर्दा
न उज्यालो भेटियो,
न अँध्यारो,
केवल एउटा प्रश्न बाँकी थियो,
सबैको आँखामा देखिएको त्यो म
मध्ये
साँच्चिकै म
कुनचाहिँ थिएँ?
Sunil Ghimire